काठमाडौं । सत्ताधारी प्रमुख दल एमाले र काँगे्रसले उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ । ओली नेतृत्वको सरकारको काम कारबाही र सरकारको भविष्यबारे अनेक शंका–उपशंका र गठबन्धनका नेताबीच असमझदारी बढीरहदा उच्चस्थरीय संयन्त्रको बैठक डाकिएको हो ।
बैठक आज साँझलाई बस्ने गरि तय भएको र नेताहरूको समय अनुकूलमा बस्ने प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच लामो कुराकानी भएको थियो । गभर्नर नियुक्ति, महत्वपूर्ण निकायमा बढुवा, शिक्षकलगायतको आन्दोलन र सरकारको डेलिभरीलाई लिएर दुई नेताबीच कुराकानी भएको बताइन्छ ।
विपक्षी दलका नेता प्रचण्डले पनि सरकार फेरिने दाबी गरिरहेका छन् । समसामयिक विषयमा छलफलसँगै गठबन्धनमा कुनै तिक्तता नभएको सामूहिक सन्देश दिन संयन्त्रको बैठक बोलाइएको हो । कांग्रेस–एमालेको संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।











