तामाङ समुदायको मौलिक भाषा, कला, संस्कृति र भेषभूषाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित ‘प्रथम मिस म्हेन्दोमाया ब्युटी क्वीन २०२६’ भव्य रूपमा सम्पन्न भएको छ।

BSK Active Nepal Production Pvt. Ltd. को आयोजनामा सम्पन्न यस ऐतिहासिक प्रतियोगितामा धादिङ, रुबीभ्याली गाउँपालिकाकी सविता तामाङले ‘प्रथम मिस म्हेन्दोमाया ब्युटी क्वीन २०२६’ को उपाधि चुम्न सफल भएकी छिन्।

त्यसैगरी, नुवाकोटको किस्पाङ गाउँपालिकाकी जेनिशा तामाङ फस्ट रनर-अप, लिखु गाउँपालिकाकी पूर्णिमा तामाङ सेकेन्ड रनर-अप र धादिङको नेत्रावती डबजोङ गाउँपालिकाकी रचना तामाङ थर्ड रनर-अप घोषित भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि माननीय राधिका तामाङ र विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्दै ठूलो संख्यामा उपस्थित थिए कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक संस्थाका अध्यक्ष सुर्या मम्बा तामाङ (सुर्या तामाङ) ले विजेता तथा सम्पूर्ण सहभागीहरूलाई बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो। उहाँले विजेताहरूलाई तामाङ समुदायको कला, संस्कृति र पहिचानको संरक्षणमा निरन्तर लाग्न प्रेरणा दिनुभयो।

अध्यक्ष तामाङले भन्नुभयो, “यो प्रतियोगिताले तामाङ समुदायको मौलिकतालाई नयाँ पुस्तामाझ पुर्याउने हाम्रो प्रयासलाई टेवा पुर्याएको छ। आगामी दिनहरूमा पनि यस्तै सकारात्मक कार्यहरूमा यहाँहरूको साथ र सहयोग रहने विश्वास लिएको छु।”

कार्यक्रमलाई सफल बनाउन खटिनुभएका पासाङ लामा, एम. बी. गुरुङ, विक्रम, डोल्मा लगायत सम्पूर्ण आयोजक टोली, निर्णायक मण्डल, प्रायोजकहरू, मिडियाकर्मी र उपस्थित सम्पूर्ण दर्शकहरूलाई अध्यक्ष तामाङले हृदयदेखि नै आभार प्रकट गर्नुभएको छ।

तामाङ कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले थालिएको यस प्रयासले तामाङ समुदायका प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने एक सशक्त मञ्च प्रदान गरेको छ।











